घोराही, १० मंसिर । पाँच नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश र जनताको समृद्धिका  लागि अध्यावधिक योजना निर्माण गर्न लागिएको बताउनुभएको छ । प्रदेश योजना आयोगले तयार गरेको २०७५ देखि ०८१ सम्मको अध्यावधिक योजनाको मस्यौदामाथि सोमबार घोराहीमा आयोजित सरोकारवालाहरुको सुझाव संकलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले सही योजनाले मात्रै उचित र दिगो विकास सम्भव हुने बताउनु भएको हो ।
‘सही योजना बन्दा विकास पनि सही रुपमा हुन्छ’ मुख्यमन्त्री पोख्रेलले भन्नुभयो  ‘सही विकासले प्रदेश मात्रै होइन जनताको जीवनस्तर पनि बनाउने हाम्रो लक्ष्य हो ।’ प्रदेश बन्ने निश्चित भइसकेको भन्दै उहाँले प्रदेश बन्दा जनता बन्छन् कि बन्दैनन् भन्ने चिन्ता रहेकाले योजनाबद्ध विकास गरेर प्रदेश र जनता बनाउने काम थालिएको बताउनुभयो । बन्दै गरेको आवधिक योजना प्रदेश सरकारको साझा पुँजी भन्दै मुख्यमन्त्री पोख्रेलले यो दस्तावेजले विकासको प्राथमिकिकरणमा बल पुग्ने बताउनुभयो । प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, सडक सञ्जाललगायत रणनीतिक महत्वका आयोजनालाई प्राथमिकतामा राखेको भन्दै पोख्रेलले सरोकारवालाहरुको सुझावले प्रदेश सरकारलाई नै मार्ग निर्देश गर्ने अपेक्षा गर्नुभयो ।उहाँले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण, व्यावसायीकरण र बजारीकरण गर्न सके समृद्धि हासिल गर्न सकिनेमा जोड दिनुभयो । कृषिलाई परम्परागत ढाँचाबाट बाहिर ल्याउन नसक्दा नै नयाँ पुस्ता कृषिमा आकर्षित हुन नसकेको उल्लेख गर्दै उहाँले कृषिमा नयाँ प्रविधि भित्र्याउन सके नयाँ पुस्ता पनि फर्केर कृषिमा आउने बताउनुभयो । पूर्वाधार विकास, यातायात व्यवस्थापन, खानेपानी तथा सरसफाई, भवन आवास तथा वस्ती विकास, विज्ञान प्रविधि, सुशासन तथा भ्रष्टाचार नियन्त्रण, शान्ति सुरक्षा, योजना कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन, वन तथा वातावरण एवं प्राकृतिक प्रकोप व्यवस्थापन, श्रम, रोजगारी, मानव संशासन, कृषि, पशु, पर्यटन, भाषा, कलालगायतका थुप्रै क्षेत्रगत आधारमा लिइएको सुझावले योजनालाई व्यवस्थित गराउने र सोही योजनाका आधारमा आगामी दिनमा सरकारले चरणवद्ध विकास गर्ने मुख्यमन्त्रीको भनाइ थियो ।
सरोकारवालाहरुको रचनात्मक सुझाव आएको भन्दै भूमि व्यवस्थापन, शिक्षा, स्वास्थ्यको सुधार चूनौतिपूर्ण रहेको उहाँको भनाइ थियो । योजना निर्माणको काम भर्खरै सुरुवात भएकाले अझै पनि दाङको विकास र समग्र प्रदेशको समृद्धिका लागि लिखित, मौखिक सुझाव दिन जिल्लावासीलाई आग्रह गर्नुभयो । उहाँले प्रदेश कस्तो बनाउने भन्ने योजना बनिरहेकाले यसमा सहभागी भएर रचनात्मक सुझाव आउनेगरी माहोल बनाइदिन सञ्चारमाध्यमलाई आग्रह गर्दै दाङमा निर्माण गर्न सकिने रणनीतिक महत्वका आयोजना भए लेखी पठाउन समेत आग्रह गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै पाँच नम्वर प्रदेशका भौतिक योजना तथा पूवाधार विकास मन्त्री बैजनाथ चौधरीले कृषि र पर्यटन पाँच नम्वर प्रदेशको समृद्धिको आधार भन्दै त्यसतर्फ ध्यान दिन स्थानीय तहलाई आग्रह गर्नुभयो । प्रदेश सरकारले कृषिलाई बढावा दिन प्रदेशस्तरमा झण्डै ३० वटा शित भण्डार निर्माण गर्ने योजना बनाइरहेको भन्दै त्यसमा स्थानीय सरकारले अझ बढी ध्यान दिनुपर्नेमा जोड दिनुभयो । योजना ठीक भएन भने बजेटिङ पनि ठीक हुँदैन मन्त्री चौधरीले भन्नुभयो,–बजेटिङ ठीक नहुँदा विकास बिग्रिने भएकाले उचित योजनाका लागि तपाई‌ंहरुको सुझाव चाहिएको हो ।
प्रदेश योजना आयोगकी सदस्य पुष्पा भुसालको अध्यक्षतामा भएको कार्यक्रममा भुसालले आयोगले तयार गरेको प्रारम्भिक मस्यौदा सुझावका लागि सहभागिमाझ प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा दाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरु, प्रदेशसभा सदस्यहरु, उपमहानगरपालिकाका प्रमुख उपप्रमुख, नगरपालिकाका प्रमुख उपप्रमुख, गाउँपालिकाका प्रमुख उपप्रमुख, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु, सामाजिक संघसंस्थाका प्रतिनिधि, प्राध्यापक, उपप्राध्यापक, विषयगत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकारलगायतको सहभागिता थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस