घोराही, १२ पुस । दाङको घोराहीमा ईन्जिनियर तथा सब ईन्जिनियरका लागि ३ दिने भूकम्प प्रतिरोधात्मक घर डिजाइन तथा निर्माणसम्बन्धी आधारभूत तालिम दिइएको छ । तालिम घोराही उपमहानगरपालिका र भूकम्प प्रबिधि राष्ट्रिय समाज नेपाल (एनसेट)को “दरो घर, दिगो बस्ती” कार्यक्रम अन्तर्गत पुस ९ देखि ११ गतेसम्म दिइएको हो ।

तालिममा २७ जना सहभागीलाई प्रशिक्षण दिइएको छ । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकामा कार्यरत प्राबिधिक र परामर्शदाता सहभागी भएका थिए । उक्त कार्यक्रमको उदघाट्न घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेले गर्नुभएको थियो । उहाँले एनसेटले भवन निर्माणसंहिता अनुपालनको क्षेत्रमा गरेको सहयोग सराहनीय रहेको बताउनुभयो । तालिममा भवन निर्माण संहिताको बारे विस्तृत रुपमा दुबै अभ्यास र सैद्धान्तिक ज्ञानको आदानप्रदान भएको छ ।

सहभागीको तर्फबाट समापन कार्यक्रममा बोल्दै शेषमणि पौडेलले पटक पटक नगरपालिकाबाट नक्सामा त्रुटी भएको भन्दै नक्सा फिर्ता आउनुको कारण तालिमबाट थाहा भएको अनुभव सुनाउनुभयो ।

समापन कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले यो तालिमले सीप अभिबृद्धि गर्नुका साथै प्राबिधिकको व्याबारिक ज्ञानलाई थप उर्जा प्रदान गरेको बताउनुभयो । साथै सिकेको प्राबिधिक ज्ञानलाई आफ्नो कार्यक्षेत्रमा लागु गर्दै घोराही उपमहानगरपालिकाको सुरक्षित आवास निर्माण गर्न मदत गर्न आग्रह  गर्नुभयो ।

कार्यक्रममा नगरपालिकाको तर्फबाट स्रोत ब्यक्तिमा ईन्जिनियर रामधन श्रेष्ठ र एनसेटको तर्फबाट बरिष्ठ सट्रकचरल ईन्जिनियर कृति तिवारी, इन्जिनियरहरु शोभाराम भट्टराई, सागर आचार्य, जगदिश बिष्ट र वसन्त चौधरीको सहभागिता रहेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस