घोराही, २७ माघ । बराहक्षेत्र माविको भौतिक पूर्वाधार तथा प्राविधिक शिक्षा सञ्चालनका लागि घोराहीमा भएको महायज्ञमा करिब डेढ करोड बचत संकलन भएको जनाएको छ ।
घोराही उपमहानगरपालिका-१३ सेवार वनगाउँमा रहेको विद्यालयले महायज्ञबाट एक करोड ५० लाख ५५ हजार तीन सय ३९ रुपैँया बचत भएको जनाएको हो । महायज्ञ मुल आयोजक समितिले आइतबार घोराहीमा पत्रकार सम्मेलन गरेर महायज्ञमा संकलित रकमको आय-व्यय सार्बजनिक गरेको हो । महायज्ञ मुल आयोजक समितिका संयोजक बिमला योगीको अध्यक्षतामा पत्रकार सम्मेलन भएको हो ।
गत माघ ३ गतेदेखि ११ गतेसम्म घोराहीमा भएको महायज्ञबाट एक करोड ९१ लाख २७ हजार छ सय ५३ संकलन भएको महायज्ञ मुल आयोजक समितिका आर्थिक संयोजक भूपाल गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार महायज्ञमा ४० लाख ७२ हजार तीन सय १४ खर्च भएको छ ।
महायज्ञ मूल आयोजक समितिका सहसंयोजक केबी घर्तीको स्वागत मन्तव्यबाट शुरु भएको पत्रकार सम्मेलनमा महायज्ञका निर्देशक अर्जुनकुमार बुढाथोकीले सहयोगी दाता सबैमा धन्यवाद ज्ञापन गर्दै प्राविधिक शिक्षा सञ्चालनका लागि प्रक्रिया तत्काल थालिने बताउनुभयो । कार्यक्रमको सञ्चालन गोपाल भुसालले गर्नुभएको थियो ।


