दाङ, २७ मङ्सिर । तुलसीपुर उपमहानगरपालिका दाङमा अब घर नक्सापासको काम अनलाइनबाटै हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाले आज पत्रकार सम्मेलन गर्दै आउँदो पुस १ गतेबाट अनलाइनबाटै घर नक्सापास हुने जानकारी गराएको हो ।

अनलाइन घर नक्सापाससम्बन्धी जानकारी दिँदै भवन अनुमति तथा मापदण्ड कार्यान्वयन शाखाका इन्जिनियर अखिल पोख्रेलले कन्सल्टेन्सीदेखि वडा कार्यालय एवं शाखाका सम्पूर्ण कामहरु अनलाइनबाटै हुने बताउनुभयो । अनलाइनबाटै फाइल आफै सम्बन्धित टेबलमा जाने भएकाले सेवाग्राही फाइल बोकेर कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो ।

युएनडिपीको सिडिआरएमपी कार्यक्रमअन्तर्गत तयार भएको सफ्टवेयर कस्टमाइजेसनका लागि नगरपालिकाले इनोभेटिभ सोलुसनसँग ४ लाख ९८ हजार ३ सय रुपैयाँमा सम्झौता गरेको छ । सम्पूर्ण प्राविधिक सहयोग इनोभेटिभ सोलुसनको रहने उक्त सफ्टवेयरमा सेवाग्राहीले IP Address 202.45.146.233 मा गएर विद्युतीय प्रणालीबाटै घर नक्सापासको काम गर्न सक्नेछन् ।पत्रकार सम्मेलनमा जानकारी दिँदै इन्जिनियर पोख्रेलले विद्युतीय प्रणालीमार्फत अनलाइन दर्ता, फाइल कहाँ पुगेको छ सोको ट्रयाकिङ, भवन मापदण्डसम्बन्धी राष्ट्रिय भवन संहिता चेकजाँच गर्न, नक्सा पास बुक, संधियार, मुचुल्का, सर्जमिन, रिपोर्ट हेर्न एवं प्रमाणपत्रहरु प्रिन्ट गर्नेजस्ता सम्पूर्ण कार्यहरु गर्न सकिने बताउनुभयो । विद्युतीय प्रणाली लागु हुँदा पुराना मिसेलहरु हराउने समस्याको समेत समाधान हुने पोख्रेलले बताउनुभयो । सफ्टवेयरमा सबै परामर्शदाताको नाम, ठेगाना तथा सम्पर्क नम्बर समेत राखिने भएकाले सेवाग्राहीलाई परामर्शदाता छनौटमा समेत सहजता आउने उहाँको भनाइ छ ।

पत्रकार सम्मेलनमा बोल्दै तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले स्मार्ट सिटीको अवधारणा अनुरुप पालिकाका सेवाहरुलाई प्रविधिसँग जोडिएको बताउनुभयो । शासकीय स्वरुपलाई स्मार्ट बनाउँदै लगेको बताउँदै उहाँले अब नागरिकलाई पनि स्मार्ट बनाउने लक्ष्य रहेको बताउनुभयो । विद्युतीय नक्सापास, क्यासलेस उपमहानगरपालिका जस्ता कार्यहरु सुशासनका हिसाबले पनि नयाँ अभ्यास भएको नगर प्रमुख पाण्डेले बताउनुभयो ।

कार्यक्रममा नेकपाका मिनराज भण्डारीले नक्सापासको शुल्क निश्चित हुनुपर्ने धारणा राख्नुभयो । विभिन्न स्थानमा नक्सापास भएको भन्दा बढी तला निर्माण भएको भन्दै उहाँले त्यसको अनुगमन हुनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका प्रमोद बस्नेत, राप्रपाका छोटीलाल चौधरी लगायतले आफ्नो धारणा राख्नुभएको थियो । पत्रकार सम्मेलनको सहजीकरण उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर डाँगीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस