दाङ, ६ मङ्सिर । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सकिएको छ । बिहान देशभर विभिन्न पोखरी, नदी, इनारलगायतको पानीको स्रोत भएको ठाउँबाट व्रतालुले सूर्यलाई अर्घ्य दिएका छन् । माटोको घैला, दियो, ढकनी, सर्वी, हात्ती, पानालगायतका सामग्रीसहित बाँसको कोनिया, ढक्की, नाङ्लोमा केरा, ठकुवा, भुसवा, खजुरीलगायतका परिकार राखेर जलाशयमा शरीर डुबाउँदै उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ ।दाङको घोराहीमा पनि हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि राति कटुवाखोला किनारमा अर्घ्य दिइएका सामग्रीहरू त्यहीँ राखेर रातभर नाचगान र रमाइलो गरेका थिए । आज कात्तिक शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पूजा समापन भएको मानिन्छ ।

कात्तिक शुक्ल षष्ठीको बेलुका अस्ताउँदो र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्यसहित गरिने छठ पूजाले निरोगी हुने, छालाजन्य रोगव्याधि नलाग्ने धार्मिक मान्यता रहेको छ । चार दिनसम्म मनाइने लोकपर्व छठ यसपालि कोरोना भाइरसका कारण पोहोर परारको भन्दा फरक देखियो ।छठ पर्वमा सूर्यकी छोरी छठी माताको पूजा गर्ने गरिन्छ । छठ पर्व खास गरेर शक्तिको पूजा भएको घोराहीका विनयकुमार मिश्र बताउनुहुन्छ । सूर्यभन्दा शक्तिशाली केही पनि नभएको भन्दै उहाँ भन्नुहुन्छ “पृथ्वीलाई चलाएमान बनाउने सूर्य नै हो । सूर्यकै शक्तिले जति पनि जीवजन्तु, वनस्पति बाँच्न सकेकाले नै छठ पर्वमा सूर्यको आराधना गरिन्छ ।” नुहाएर शुद्ध भएर भक्तजनहरु ब्रत बस्ने गर्दछन् । छठमा ३६ घण्टासम्म निर्जल ब्रत बस्ने गरिन्छ ।

छठ पर्वको लामो इतिहास भए पनि दाङमा यसको धेरै लामो इतिहास नभएको मिश्र बताउनुहुन्छ । पछिल्लो समयमा बर्सेनी छठ पर्व मनाउनेको सङ्ख्या बढ्दै गएको उहाँको भनाइ छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस