दाङ, ६ असोज । दाङ जिल्लाका पाँच अतिरिक्त हुलाक कार्यालय हालै बन्द भएका छन् । हुलाक निर्देशनालय दाङका अधिकृत शोभाराम बस्नेतका अनुसार तुलसीपुर–१३ फूलबारी, तुलसीपुर–१८ बेलझुण्डी, तुलसीपुर–४ हलवार, बबई गाउँपालिकाको पुरन्धारा र दङ्गीशरण गाउँपालिकाको गोल्टाकुरीमा रहेका अतिरिक्त हुलाक कार्यालयहरू बन्द गरिएको हो ।

अधिकृत बस्नेतका अनुसार पछिल्ला वर्षमा अतिरिक्त हुलाक कार्यालयहरूमा कामकाज लगभग शून्यजस्तै भएको छ । “केही बैंकका चिठीबाहेक अन्य चिठी आउनै छोडेको अवस्था छ,” उहाँले बताउनुभयो । अतिरिक्त हुलाक कार्यालयमा हुलाक प्रतिनिधि, वितरण तथा डाँक वाहकजस्ता पद सिर्जना गरिएको थियो । ती कर्मचारीले दैनिक कम्तीमा दुई घण्टा सेवा दिनुपर्ने व्यवस्था भए पनि सेवाग्राही नहुँदा कार्यालयहरू निष्क्रिय बनेका हुन् ।

कानुनी प्रावधानअनुसार अतिरिक्त हुलाक कार्यालयका कर्मचारी अवकाशमा जाँदा सो पद स्वतः खारेज हुने व्यवस्था छ । यही कारणले हाल ती कार्यालयहरू बन्द गर्नुपरेको हो । यसअघि स्थानीय विरोधका कारण तत्कालै बन्द नगरी कर्मचारीको सेवा अवधिभर सञ्चालन गर्ने र अवकाशपछि मात्र पद खारेज गर्ने व्यवस्था गरिएको थियो ।

हाल दाङमा २५ वटा अतिरिक्त हुलाक कार्यालय र पाँच वटा इलाका हुलाक कार्यालय सञ्चालनमा छन् । ग्रामीण क्षेत्रमा अझै केही सरकारी वा बैंकसम्बन्धी पत्राचार हुने भएकाले ती कार्यालयहरूको आवश्यकता भने यथावत् रहेको हुलाक निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस