घोराही, ९ वैशाख । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती उपक्षेत्रीय अस्पतालबीचको विवाद तत्काल समाधान गरेर अगाडि बढ्न नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर २ र ३ ले माग गरेका छन् । काँग्रेस दाङ क्षेत्र नम्बर २ र ३ को आइतवार घोराहीमा छुट्टाछुट्टै बसेको बैठकले अस्पताल र प्रतिष्ठानबीचको विवादलाई तत्काल समाधान गरी अगाडी बढ्न माग गरेका हुन् ।
राजनीतिक स्वार्थका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सत्तारुढ दल र दलका व्यक्तिहरुले अन्योलमा पार्ने प्रयास गरेको भन्दै काँग्रेस क्षेत्रीय समितिहरुले बैठकबाट निर्णय समेत गरेका छन् । साथै उनीहरुले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा राजनीति नगर्न सत्तारुढ दलहरुलाई अनुरोध गरेका छन् ।
नेपाली काँग्रेस साविक क्षेत्र नम्बर ३ को बैठकमा बोल्दै प्रतिनिधिसभा सदस्य अनिता देवकोटाले दङाली एवं राप्तीवासीमाथि घात गर्ने अधिकार कुनै दल र व्यक्तिलाई नभएको बताउनुभयो । यस विषयमा अनेक चलखेल नगर्न एमाले र माओवादी पार्टीलाई चेतावनी दिनुभयो । स्वास्थ्य क्षेत्र सबैको आवश्यक र संवेदनशील क्षेत्र भएकाले जनताको अधिकारमाथि खेलवाड गर्ने अधिकार कसैलाई नभएको बताउनुभयो । स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सहज रुपमा सञ्चालन गरेर दाङलाई स्वास्थ्य क्षेत्रमा पाँच नम्बर प्रदेशको केन्द्रको रुपमा विकास गर्न सकिने देवकोटाको भनाइ छ । उहाँले यस विषयमा आफूले संसदमा जोडदारका साथ कुरा राखेको भन्दै चाँडै यसले निकास पाउने विश्वाव व्यक्त गर्नुभयो ।
क्षेत्रीय सभापति भूपबहादुर डाँगीको अध्यक्षता एवं प्रतिनिधिसभा सदस्य अनिता देवेकोटाको प्रमुख आतिथ्यतामा बसेको बैठकले क्षेत्रीय समिति विस्तार गरेको छ । काँग्रेस विधानअनुसार क्षेत्र नम्बर ३ को सदस्यहरुमा घना डिसी, भीमा शाह, लीला नेपाली, पूर्णबहादुर राना, केशव केसी रहनुभएको छ । यस्तै बैठकले जेठको दोस्रो हप्तादेखि आफ्नो क्षेत्रका हरेक वडामा सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । साथै काँग्रेसका क्षेत्रीय प्रतिनिधि अब्दुल सलाम सारुफी (कल्लु)को निधनप्रति दुःख व्यक्त गरेको छ । बैठकको सहजीकरण क्षेत्रीय सचिव बद्रीकुमार खड्काले गर्नुभएको थियो ।
यस्तै कांग्रेस दाङ साविक क्षेत्र नम्बर २ को वैठक पनि आइतवार घोराहीमा सम्पन्न भएको छ । क्षेत्रीय सभापति गिरिराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले पनि सांगठनिक गतिविधिहरुलाई तीव्र बनाएर गाँउगाँउसम्म पुग्ने निर्णय गरेको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस