स्यानी चौधरी
उपप्रमुखको उमेदवार तुलसीपुर उपमहानगरपालिका नेकपा एमाले

कुनै बेला थियो छोरीहरुले पढ्न पाउँदैनथे । त्यसमापनि थारु समुदायमा छोरीहरुले पढ्ने कुरा निकै टाढाको कुरा थियो । छोरीले पढ्नु हुँदैन भन्ने सोचाईलाई तोड्दै र संघर्ष गर्दै आफूलाई अव्वल सावित गर्ने अभियन्ताको नाम हो स्यानी चौधरी । अनेकन अन्धविश्वास र गलत मान्यतालाई छिचोल्दै स्यानीले विद्यालय शिक्षा पुरा गर्नुभयो । एसएलसी उत्तीर्णसँगै स्यानीले जापान, अमेरिका र डेनमार्कमा छात्रवृत्तिमा पढ्ने अवसर पाउनुभयो । राजनीति शास्त्र र समाज शास्त्रमा एमए गर्नुभएकी चौधरीलाई अहिले नेकपा एमालेले तुलसीपुर उपमहानरपालिकामा उपमेयरको उम्मेदवार बनाएको छ । प्रस्तुत छ चौधरीसँग गरिएको कुराकानी ।

निर्वाचन नजिक आएको छ प्रचार प्रसार कस्तो चलिरहेको छ ?
निर्वाचन नजिक आएको छ । हामी प्रचार प्रसारमा जुटिरहेका छौं । यतिवेला जनताको घरमा पुग्ने, मत माग्ने, एजेण्डा सुनाउने गरिरहेका छौं । पार्टीका कमिटी सभा, वैठक, भेला पनि चलिरहेका छन । विहानदेखि साँझैसम्म व्यवस्थितरुपले प्रचार प्रसार, मतदाता भेटघाट र दिनभरी भएका गतिविधिको विषयमा साँझ समीक्षा पनि हुँदै आएको छ ।

तुलसीपुरमा एक्कासी उपमेयरमा उम्मेदवारी दिने अवसर पाउनुभयो भनिन्छ नि ?
यस्तो होइन । वास्तवमा म जीवनमा धेरै संघर्ष गरेर यहाँसम्म आइपुगेको हुँ । खासगरी यस क्षेत्रका दिदी वहिनीहरुको नेतृत्व विकास, क्षमता विकासमा मैले लामो समय काम गरे । सामाजिक क्षेत्रमा लामो समय काम गरेपछि यसलाई अझ व्यापक बनाउन स्थानीय सरकारको नेतृत्वका लागि मेरो उम्मेदवारी हो ।

सरकार राम्रो हुनका लागि नेतृत्व राम्रो हुनुपर्छ । त्यो हैसियत लामो समय सामाजिक क्षेत्रमा काम गरेको अनुभवले समग्र नगरबासीको काम गर्न मैले उम्मेदवारी दिएको हुँ । पार्टीले मलाई विश्वास गरेर नेतृत्वका लागि अवसर दिएको छ । यो अवसरलाई मैले उपयोग गरेर आम मतदाताको विश्वास जित्नेछु । पाँच बर्षसम्म केही राम्रा काम गरेर देखाउनेछु । मैले पाएको उमेदवारी तमाम महिलाहरुको प्रतिनिधित्व हो ।

चुनावमा कस्ता योजना लगेर गइरहनुभएको छ ?
तुलसीपुरलाई नमूना उपमहानगरपालिका बनाउने पहिलो शर्त हो । त्यसैले हाम्रो ध्यान सरकारी तवरबाट दिइने सेवा सुविधालाई छिटो छरितो र नागरिकमैत्री बनाउनु रहनेछ । सरकारी सेवा प्रवाहमा सुधार गर्ने कुरामा हाम्रो पहिलो ध्यान जानेछ । यस्तै साना जस्ता लाग्ने तर जनताको सेवामा तिनै साना साना सुधारका काम गर्न सकियो भने सेवा प्रवाहमा सहजता ल्याउन सकिने थुप्रै काम गर्न सकिन्छ भन्ने मलाई लाग्छ । मैले राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा हासिल गरेको अनुभवले नागरिक सेवामा परिवर्तन ल्याउनुपर्छ भन्ने लागेको छ ।

यस्तै किशोरी शिक्षा, सडक बालवालिकाको संरक्षण गर्न सकिन्छ । यही कुरा मैले व्यक्तिगतरुपमा गरिरहेको छु । २४ जना त्यस्ता वालवालिकाहरुलाई मैले संरक्षण गरिरहेकी छु । तर, स्थानीय तहको नेतृत्व गर्ने अवसर मिल्यो भने सबै महिला, बालबालिका, नगरबासी दाजुभाइ दिदीबहिनी, वर्ग, समुदायको संरक्षण, सेवामा लाग्नेछु । त्यसैगरी गुणस्तीय शिक्षाका लागि काम गर्ने र हरेक बालबालिकाहरूलाई यो देशको सक्षम नागरिक बनाउने योजना छ । त्यस्तै सडक मानवमुक्त बनाउन घरवास नभएका असहाय, हिंसापीडितहरुलाई सुरक्षित आवासको व्यवस्था गर्ने, ज्येष्ठ नागरिकहरुको संरक्षण, सरकारी विद्यालयमा शैक्षिक गुणस्तर बढाउन स्थानीय सरकारको लगानीलाई ध्यान दिने र हरेक नागरिकहरुलाई सक्षम बनाएर यही देशमा केही गर्न सक्ने वातावरण सिर्जना गर्ने योजना छ ।

अरुले उठाएका भन्दा फरक योजना के छन नि ?
पहिलो कुरा त म आधा भन्दा बढी जनसंख्या रहेको महिलाको प्रतिनिधि हुँ । त्यसो भएर जसरी आमाले परिवारमा समभाव राखेर मातृत्व प्रदान गर्नुहुन्छ त्यसैगरी मैले उपमहानगरवासीको विकासमा आग्रहपूर्वाग्रह नराखेर काम गर्नेछु । नेतृत्व प्रदान गर्नेछु । मलाई जापान, अमेरिका, डेनमार्कलगायत विकसित देशहरुको सुशासन, विकासको अनुभव छ । त्यो अनुभवलाई यो उपमहानगरको विकासका लागि आम नगरबासीको सुझावका आधारमा काम गर्ने र सुशासनयुक्त प्रणालीको विकास गर्ने काम मैले गर्नेछु ।

एकातिर पाँच दलिय गठबन्धन छ, अर्कोतिर तपाईहरु एक्लै निर्वाचनमा गइरहनुभएको छ कसरी सामना गर्नुहुन्छ ?
मलाई त त्यस्तो लाग्दैन । गठवन्धनले महिला प्रतिनिधित्वलाई बेवास्ता गरेको छ । यो कुरामा सवै महिलाई सचेत हुनुहुन्छ । संविधानले नै प्रमुख दुई पदमा एकजना महिलाको उमेदवारी हुनुपर्छ भनेको छ । अहिले गठवन्धनले महिलालाई पुरै उपेक्षा गरेको छ । म आम नगरबासीको साझा उम्मेदवार हुँ । एमालेले मलाई टिकट दिए पनि उपमेयरमा महिला उम्मेदवार म नै हुँ । आम नगरवासीको साझा उम्मेदवार भएकाले मलाई चुनौती होइन अझ सहज भएको छ ।

उपमेयरको काँधमा परिभाषित जिम्मेवारीहरु रहेका छन् कसरी दायित्व पूरा गर्नहुन्छ ?
संविधानले दिएको जिम्मेवारी पूरा गर्ने आँटका साथ चनुावी मैदानमा छु । मलाई किन पनि सजिलो छ भने हिंसामा परेका महिला, बालवालिकालगायत आम नागरिकहरुको सेवामा यसअघि नै मैले झण्डै ३० वर्ष गुजारेको छु । यसर्थ मलाई न्याय निरुपणमा गाह्रो हुने छैन । मुख्य त नेतृत्व गर्ने कुरा हो । पीडितहरूको न्यायका लागि काम गर्न सक्षम छु । मैले यो जिम्मेवारीलाई समाज सेवाकै रुपमा लिएको छु । यो सेवा गर्ने अवसर आम नगरवासीहरूले दिनुहुनेछ भन्ने विश्वास छ ।

अन्त्यमा के भन्नुहुन्छ ?
मलाई नेकपा एमालेले विश्वास गरेर उपप्रमुख पदमा उमेदवार बनाएको छ । यो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नसक्छु भन्ने विश्वास छ । आम मतदाताहरु सचेत हुनुहुन्छ । कसले विकास र समृद्धिको नेतृत्व गर्न सक्छ भन्ने बारेमा सवैलाई थाहा भइरहेको छ । नेकपा एमालेले मात्रै सुखी नेपाली र समृद्ध नेपालको सपना साकार पार्न सक्छ । यसर्थ यहि बैशाखको ३० गतेका दिन हुने निर्वाचनमा म लगायत नेकपा एमालेका सूर्यध्वजावाहक उमेदवारलाई विजयी गराउनुहुन आह्वान गर्दछु ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस