घोराही, ३० असार । वन संरक्षणले मात्रै उपभोक्ताहरुको जीवन परिवर्तन गर्न नसकिने भन्दै जिल्ला वन कार्यालयले राष्ट्रिय तथा सामुदायिक वनमा चक्लाबन्दी सुरु गरेको छ । अघिल्लो वर्षदेखि सामुदायिक वनको वैज्ञानिक व्यवस्थापनसमेत थालेको जिल्ला वन कार्यालयले वनमा रुखको पुनर्उत्पादनका लागि १० वर्षे कार्ययोजना बनाएर काम थालेको हो ।
“नेपालमा वन संरक्षणको काम नमूना नै भयो तर त्यसलाई उत्पादनशील बनाउन सोचेजति काम भएन” जिल्ला वन कार्यालयका प्रमुख वनअधिकृत जगदिशप्रसाद गुप्ताले भन्नुभयो “वैज्ञानिक वन व्यवस्थापनमार्फत वनमा रुखको पुनर्उत्पादन गर्ने र उपभोक्ताहरुको आम्दानीलाई समेत टेवा पुग्नेगरी काम थालिएको छ ।”
जिल्ला वन कार्यालयले अहिले दाङका ११ सामुदायिक वन र बबई गाउँपालिकाको राष्ट्रिय वन क्षेत्रमा चक्लाबन्दी सुरु गरेको छ । राष्ट्रिय वनमा दुईवर्ष अघि नै चक्लाबन्दी सुरु गरिएको हो । उक्त क्षेत्रमा अहिले तारबार, बुढा, बाङ्गाटिङ्गा, घना क्षेत्रका रुखहरु कटान गरी माउ रुखको संरक्षण थालिएको वन अधिकृत खिमबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार कुल ५ सय ४५ हेक्टर क्षेत्रफल रहेको राष्ट्रिय वनको ४.३ हेक्टरमा अहिले काम भइरहेको छ ।
यस्तै बबई गाउँपालिका–६ को बाघदैला चिसापानी सामुदायिक वन उपभोक्ता समूहमा पनि चक्लाबन्दीको काम नमूना देखिएको छ । घना जङ्गल र त्यसमा एकसय वर्ष उमेर नाघेका रुखहरुका कारण नयाँ रुख उत्पादन हुन नसकिरहेको अवस्थामा चक्लाबन्दीले सयौं नयाँ बिरुवा उत्पादन भइरहेको सामुदायिक वन उपभोक्ता समूहले जानकारी दिएको छ । कतिपय नाङ्गा डाँडाहरुमा समेत चक्लाबन्दी सुरु गरिएपछि नयाँ बिरुवा उम्रिएको वनकर्मीहरुले बताए ।
साविक शान्तिनगर १ र २ मा रहेको सदावहार सामुदायिक वन उपभोक्ता समूहमा पनि चक्लाबन्दीले माउ रुखहरुको संरक्षणसँगै रुख बृद्धिको काम नमूनायोग्य रहेको वनअधिकृत देवीप्रसाद चौधरीले जानकारी दिनुभयो ।
“पहिलोचरणमा गरिएका चक्लाबन्दीमा रिजल्ट देखिन सुरु भइसकेको छ, हजारौं नयाँ बिरुवा उत्पादन भइसकेका छन्” जिल्ला वन अधिकृत गुप्ताले भन्नुभयो “चक्लाबन्दीले वनमा पनि न्यू जेनेरेसनको बृद्धि, बृद्ध तथा बाङ्गाटिङ्गा रुख कटानगरी उपभोक्ताहरुको काठको माग पूर्तिमा ठूलो टेवा पुगेको छ ।” बुढा र पुराना रुख लामो समयसम्म राख्दा उत्पादनमा ह्रास आउने भएकाले वनको वैज्ञानिक व्यवस्थापन गर्न चक्लाबन्दी थालिएको जिल्ला वन कार्यालयले जनाएको छ ।
अहिले जिल्लाका ७ वटा सामुदायिक वनमा चक्लाबन्दी गरी रुख कटान गरी काठ, दाउरा निकाल्ने, माउ रुख संरक्षण गर्ने, झाडी फाल्ने, तारबार गर्ने काम भइरहेको छ भने अन्य ४ वटा सामुदायिक वनको कार्ययोजना स्वीकृत भइ कार्यान्वयनको चरणमा लागेको कार्यालयले जनाएको छ ।
निजी वन पनि नमूना
यसैबीच जिल्ला वन कार्यालयले दर्ता भएका निजी वनहरुलाई पनि प्रवर्द्धन गर्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तपुरका पलबहादुर खत्रीले आफ्नो ८ कट्ठा निजी जमिनमा संरक्षण गर्नुभएको निजी वन जिल्लाकै नमूना निजी वनको रुपमा स्थापित भएको छ ।
दुईवर्ष अघि जिल्ला वनबाट निःशुल्क ल्याएर टिक र मसलाका ६ सय बिरुवा रोप्नुभएका खत्रीको निजी वनमा अहिले ५ सय ९६ वटा रुख छन् । खेतिपाति गर्दा उत्पादन नभएपछि वृक्षारोपण गरिएको खत्रीले बताउनुभयो । त्यस्तै घोराही उपमनपा– ११ को खैरामा नेसंविको १० विगाह जमिन लिजमा लिएर बुद्धिराम बुढालगायतले बनाउनुभएको निजी वन पनि नमूना बन्दै गएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस