२००७ साल फागुन ७ गते मुलुकमा प्रजातन्त्र स्थापना भएको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी ६८ औँ प्रजातन्त्र दिवस मनाइएको छ।
यसै अवसरमा काठमाडौंको टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा विशेष समारोहको आयोजना गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले लामो समयदेखि अपेक्षा गरिरहेको राजनीतिक स्थिरता, विकास र समृद्धिको सपना साकार पार्ने युगको प्रारम्भ भएको बताएका छन्।

उनले सबै तहको संयुक्त प्रयासबाट न्यायपूर्ण सामाजिक व्यवस्था स्थापना गर्ने र आर्थिक विकासमार्फत् ‘सुःखी नेपाली, समृद्ध नेपाल’को लक्ष्य हासिल गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरे। प्रधानमन्त्री ओलीले जनताको चाहना बमोजिम युग सापेक्ष विकास र विकास सापेक्ष नीति एवम् कार्यक्रमबाट नेपाल र नेपालीको मुहारमा खुशीयाली ल्याउने महाअभियान सुरू गर्ने उदघोष गरे।

प्रधानमन्त्री ओलीले जनतामा निहित सार्वभौमसत्ताको सम्मान, राष्ट्रिय एकता एवम् हितको रक्षा, कानूनी शासनको सुदृढीकरण, सुशासन, स्थिरता, विकास र समृद्धि अब मुलुकको कार्यदिशा हुने समेत स्पष्ट पारे। उनले केन्द्रीय, प्रदेश र स्थानीय सरकारले आ–आफना अधिकारका सीमा र सम्बन्धमा रही समन्वयात्मक तवरबाट शासन संचालन गर्ने नयाँ अध्यायको सुरूवात भइसकेको स्मरण गराए।

प्रधानमन्त्री ओलीले नेपाली जनताले युगौँदेखि साँचेका सपनालाई साकार पार्न समयमै स्रोत र साधनको परिचालन गरी नेपाल र नेपाली जनताको वृहत्तर हित र समृद्धिको अभियानमा जुट्न सबैलाई आह्वान गरे।

प्रधानमन्त्री ओलीले जनताले अनुभूति गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा नेपाली सेनाले आफ्नो कलाकौशल प्रस्तुत गर्नुका साथ हेलिकप्टरबाट पुष्पवृष्टि गरेका थियो । त्यसैगरी काठमाडौं महानगरपालिका, नेपाल स्काउट लगायतका संघ, संस्थाहरुले सांस्कृतिक झाँकीसहितका प्रर्दशनी गरेका थिए । यसै अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा पनि दिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस