घोराही, १५ फागुन । आजदेखि राष्ट्रिय अभियानकै रुपमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाई‌ंदै छ । यसवर्ष दाङ सहित १५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन लागिएको हो । दाङमा भने नवौं चरणको अभियान अन्तर्गत औषधि खुवाउन लगिएको छ । आम जनताहरुमा औषधि खान डर मान्ने स्थिति भएका कारण यसवर्ष विभिन्न सचेतनामुलक कार्यक्रमहरु समेत गरिएको थियो ।

घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले घोराही उपमहानगरका १ लाख ७० हजार ३५ जनालाई हात्तीपाइले विरुद्धको औषधि खुवाउने लक्ष्य लिएको बताउनुभयो । विगतका वर्ष भन्दा यस वर्ष भने प्रभावकारी बनाउनका लागि स्वास्थ्यकर्मीहरुलाई नै परिचालन गरिएको उहाँले बताउनुभयो ।

औषधि खुवाउनका लागि घोराहीका १९ वटै वडामा स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छ । घोराही उपमहानगरले १०० जना स्वास्थ्यकर्मीहरु औषधि खुवाउनका लागि परिचालन गरिएको जानकारी दिएको छ । १५ गते हरेक वडामा रहेका बुथहरुमा, १६, १७, १८ र १९ गते स्वास्थ्यकर्मीहरु घरमै पुगेर र २० र २१ गते उपमहानगरपालिकामा रहेका हरेक स्वास्थ्य संस्थाहरुबाट औषधि खान सकिने स्वास्थ्य शाखा प्रमुख घर्तीले जानकारी दिनुभयो ।

हात्तीपाइले रोगविरुद्धको औषधी खान हुन्न भन्ने भ्रममा नपर्न उपमहानगरले सबैमा आग्रह गरेको छ । दुई वर्ष मुनिका बालबालिका, सात दिनकी सुत्केरी महिला, दीर्घरोगी, २४ घण्टाभित्र मृगी भएका व्यक्ति बाहेक अन्य सबैले औषधि खान मिल्ने स्वास्थ्य शाखाले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस