घोराही, १३ चैत । दाङमा पहिलो पटक साइकलिङ यात्रा हुने भएको छ । दाङ जिल्ला साइकलिङ संघको आयोजनामा पहिलो पटक यस्तो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

दाङ जिल्ला साइकलिङ संघ दाङको बुधबार बसेको बैठकले आगामी २०७६ बैशाख २१ गतेका दिन टुर दि दाङभ्याली साइकलिङ गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष रेशम केसीको अध्यक्षतामा बसेको बैठकले घोराहीबाट शुरु भएर विभिन्न स्थानबाट घुम्दै पुनः घोराही आएर समापन गर्ने गरेर साइकलिङ यात्रा आयोजना गर्ने निर्णय गरेको हो । जसमा पहिलो विश्व साइकलिङ यात्री पुस्कर शाहको पनि सहभागिता हुनेछ ।

दाङ जिल्लामा पहिलो पटक आयोजना गरिएको साइकलिङ यात्रा करिव एक सय किलोमिटरको हुनेछ । जुन घोराहीबाट विहान शुरु हुनेछ भने विश्वकै अग्लो त्रिशुल रहेको धारपानी हुँदै कुहिरेपानीबाट गोरक्ष रत्ननाथ, अम्विेश्वरी, बाह्रकुनेबाट हापुर रक्षाचौर सडकबाट जानेछ । हापुरबाट तुलसीपुर उपमहानगरपालिकाको चमेरे गुफा हुँदै तुलसीपुर बजार पुग्नेछ । तुलसीपुरमा पनि विभिन्न स्थानमा पुगेपछि साइकिल यात्रीहरु घोराही आउनेछन् । दाङ जिल्लामा पहिलो पटक आयोजना गर्न थालिएको साइकलिङ यात्रामा नेपालका विभिन्न जिल्लाका साइकिल यात्रीहरुको पनि सहभागिता रहने साइकलिङ संघ दाङका सचिव विमल श्रेष्ठले जानकारी दिनुभयो ।

दाङ जिल्लाको पर्यटकीय सम्भावनालाई उजागर गर्ने र साइकिलको महत्वका बारेमा आम रुपमा जानकारी दिनका लागि यस्तो साइकिल यात्रा आयोजना गरिएको बताएको छ । हालै गठन भएको संघले केही समय अघि मात्रै राइट टु दि ठाकुरद्वारा र साइकलिङ फारवेष्टमा सहभागिता जनाइसकेको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म साइकिल यात्रा गर्नुभएका घोराहीका रेशम केसीको नेतृत्वमा हालै दाङ जिल्लाका साइकिल यात्रीहरु संगठित भएका छन् । बुधबार बसेको बैठकमा राप्ती पोष्ट दैनिकका सम्पादक शरद अधिकारी, त्रिभुवननगर जेशिजका पूर्व अध्यक्ष दीपक श्रेष्ठ लगायतले सुझाव दिनुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस