घोराही, २१ मंसिर । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरी दाङको घोराहीमा मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ । दाङ क्रिकेट संघको आयोजनामा शुक्रबारदेखि घोराही उपमहानगरपालिका वडा नम्बर १७ स्थित गुलरिया खेल मैदानमा महिला क्रिकेट प्रतियोगिताको अभ्यास खेल सुरु भएको हो ।
दाङका महिला क्रिकेट खेलाडी र कपिलवस्तु निर्भाना क्रिकेट एकेडेमीका खेलाडीहरु प्रतियोगितामा सहभागी भएका छन् । राष्ट्रिय प्रतियोगितामा सहभागी हुने तयारीस्वरुप अभ्यास खेलका लागि प्रतियोगिता आयोजना गरिएको हो ।
दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँको अध्यक्षता एवं वडा नम्बर १७ का अध्यक्ष खुसीराम चौधरीको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो । कपिलवस्तु निर्भाना क्रिकेट एकेडेमीका कन्सल्टेन्ट स्टिभ अल रोवर्डले बलिङ र वडा अध्यक्ष चौधरीले व्याटिङ गरेर खेलको शुभारम्भ गर्नुभयो ।कार्यक्रममा बोल्ने वक्ताहरुले क्रिकेट खेलले नेपालको पहिचानमा समेत योगदान पुर्‍याएको बताए । खेलाडीहरुको उत्साह र सरकारको हौसला मिल्न आवस्यक रहेको भन्दै क्रिकेट खेलमा लगानी बढाउन स्थानीय, प्रदेश र संघीय सरकार लाग्नुपर्ने बताए । कार्यक्रममा क्रिकेट संघका निवर्तमान अध्यक्ष किशोरचन्द्र गौतम, त्रिभुवननगर जेसिजका अध्यक्ष लालमणि भण्डारी, एकेडेमीका कन्सल्टेन्ट रोवर्डलगायतले बोल्नुभएको थियो ।
प्रतियोगिताले खेलाडीमा सीपको सिकाइ र हौसला थप्ने अपेक्षा गरिएको संघका अध्यक्ष मजगैयाँले बताउनुभयो । कार्यक्रमको सहजीकरण संघका सदस्य शिव श्रेष्ठले गर्नुभएको थियो । प्रतियोगितामा अन्तर्राष्ट्रिय खेलाडीहरु शोभा आले र लक्ष्मी चौधरीसहितको टिम सहभागी भएर प्रशिक्षण समेत दिएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस